आयोगलाई एमालेको धम्की, नेम्वाङ-यादवबीच भनाभन

काठमाडौं । प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गर्न ढिलाई भएकोप्रति एमाले र माओवादी केन्द्रका नेताहरू निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।

सुवास नेम्बाङको नेतृत्वमा भीम रावल, अग्नि खरेल र माओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा लगायतका नेताहरूले सोमबार आयोगको कार्यालय पुगेर ध्यानाकार्षण गराएका हुन् । छलफलको सुरुवातमै एमाले नेताहरूले प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई कडा प्रश्न राख्दै निर्वाचन परिणाम किन सार्वजनिक नगरेको भनेर जिज्ञासा राखेका थिए ।

स्रोतका अनुसार एमाले नेता नेम्बाङले प्रमुख निर्वाचन आयुक्त यादवले सार्वजनिक कार्यक्रमहरूमा बोलेका अभिव्यक्तिप्रति गम्भिर आपत्ति जनाएका थिए । यादवले आइतबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा एमाले नेताहरूले कानून नबुझेको आरोप लगाएका थिए ।

निर्वाचन परिणाम घोषणा लगायत समग्र प्रक्रियामा निर्वाचन आयोगले गरेको ढिलाईका कारण नयाँ सरकार गठनको बाटो लम्बिएको भन्दै वाम गठबन्धनले ध्यानाकर्षण गराएको हो ।

प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्षतर्फको नतिजा सकिएपनि समानुपातिक तर्फको सिट बाँडफाँट गरी टुंग्याउन आयोगले ढिलाई गरेकोमा बिभिन्न शंका उत्पन्न भएका छन् ।

निर्वाचन आयोगले संवैधानिक र कानुनी जटिलताका कारण तत्काल प्रतिनिधिसभा समानुपातिकतर्फको निर्वाचन परिणाम सार्वजनिक गर्न सक्ने अवस्था नरहेको स्पष्ट पारेको छ ।

प्रमुख निर्वाचन आयुक्त यादवले संविधान, कानून, निर्वाचन नियमावली र निर्देशिका अनुसार पनि तत्काल प्रतिनिधिसभा समानुपातिकतर्फको निर्वाचन परिणाम सार्वजनिक गर्न सक्ने अवस्था नरहेको बताएका थिए ।

यादवले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभई प्रतिनिधिसभा समानुपातिकतर्फको निर्वाचन परिणाम सार्वजनिक गर्न नमिल्ने अडान पनि दोहोर्‍याएका छन् ।

प्रमुख निर्वाचन आयुक्त यादवले संघीय संसदमा एक तिहाई महिला प्रतिनिधित्व सुनिश्चित गराउने संवैधानिक प्रावधान रहेकाले पनि प्रतिनिधिसभा समानुपातिकतर्फको निर्वाचन परिणाम सार्वजनिक गर्न नमिल्ने कुरा बुझिदिन पनि सबैमा आग्रह गरे ।

प्रमुख निर्वाचन आयुक्त यादवले संवैधानिक निकाय भएकाले संविधानले निर्देश गरे अनुसार आयोगले आफ्नो कार्य सम्पादन गरिरहेको पनि स्पष्ट पारे ।

आयोगले छिटोभन्दा छिटो निर्वाचन मतरिणाम सार्वजनिक गर्ने तयारी गरिरहेको उनले विश्वास दिलाए । उनले चाँडो भन्दा चाँडो नयाँ सरकार गठन होस् भन्ने पक्षमा आफूहरु रहेको बताउँदै त्यतातर्फ आफूहरुको ध्यान आकृष्ट भएको पनि जानकारी दिए ।

Published : Monday, 2018 January 1, 6:34 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया