ओली गुटको हर्कत बढ्न थाल्यो, ‘प्रचण्ड’को मानमर्दन सुरु

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको चर्चा चलिरहेका बेला केपी ओली गुटका नेताहरूले पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध विभिन्न आक्षेपहरू लगाउन थालेका छन् ।

एमालेका अध्यक्ष ओली निकट मानिने महासचिव ईश्वर पोखरेलसहितका नेताहरूले माओवादी अध्यक्ष दाहालविरुद्ध आक्षेपहरू लगाएका हुन् । ओली गुट निकट मानिने समूहले प्रचण्डविरुद्ध विभिन्न समाचारहरू सम्प्रेषण गरिरहेको दाबी माओवादीको छ ।

माओवादीका एक नेताले भने, ‘एमालेका अध्यक्ष केपी ओली सम्मानित व्यक्ति हुनुहुन्छ । तर, उहाँकै निकटका केही पत्रकारहरूले प्रचण्ड र माओवादीका दोस्रो तहका नेताहरूविरुद्ध विभिन्न खालका अर्नगल समाचार लेख्न थाल्नु भएको छ । यसरी त पार्टी एकीकरण र बाम गठबन्धनको सरकारलाई सहयोग मिल्दैन ।’

प्रचण्ड र ओलीबीच दरार उत्पन्न हुने गरेर एमाले निकटका सञ्चारमाध्यमहरूले समाचार लेख्न थालेपछि माओवादीका नेताहरूले चिन्ता जनाएका हुन् ।

प्रचण्डको सचिवालयविरुद्ध पनि समाचार लेखिएका छन् । समाचारमा प्रचण्डका स्वकीय सचिव जोखबहादुर महराले ओलीसँग भेट्न नदिएको भनेर उल्लेख गरिएको छ ।

त्यति मात्रै होइन समाचारमा कृष्णबहादुर महरा, वर्षमान पुन, मातृका यादव, गोपाल किराती, विश्वभक्त दुलाल ‘आहुती’लाई पार्टी एकताका विरोधीका रुपमा चित्रित गरिएको छ ।

Published : Tuesday, 2017 December 26, 10:40 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया