बामदेव हराएको आरोप खेपेका श्याम ढकालले दिए सनसनीपूर्ण बयान

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष बामदेव गौतमलाई हराउन भूमिका खेलेको भनिएका श्याम ढकालले छानविन समितिलाई जवाफ दिएका छन् ।

केन्द्रीय सदस्य बैजनाथ चौधरीको संयोजकत्वमा बनेको समितिलाई ढकालले आफ्नै कमजोरीका कारण उपाध्यक्ष गौतम पराजित भएको जवाफ दिएका हुन् । समितिमा बर्दिया जिल्लाका अध्यक्ष हरि ज्ञवाली पनि रहेका छन् ।

‘चुनावमा बामदेव कमरेडले काठमाडौंबाट हाइकमाण्ड ल्याउनु भएको थियो, हारको मुख्य कारण त्यही हो’, छानविन समितिलाई ढकालले दिएको जवाफ उदृत गर्दै स्रोतले भन्यो, ‘मैले अन्तरघात गर्ने कल्पना समेत गर्न सक्दिन, पूर्वाग्रही भएर म माथी कारवाही नहोस्, जनतामा गएर सोध्न पर्‍यो, जहाँ मलाई खटाइएको थियो ।’

एमालेका उपाध्यक्ष गौतमले चुनावका बेला काठमाडौंबाट हाइकमाण्ड बनाएर बर्दिया लगेका थिए । स्थानीय नेता कार्यकर्ता हाइकमाण्डबाट चल्ने गरेका थिए ।

हाइकमाण्डमा हरि पराजुल, शारदा सुवेदी, नारायण गिरी, डिवी कार्की लगायतका ब्यक्ति थिए । उनीहरू बर्दियाली जनतासँग परिचित पनि थिएनन् ।

आफूमाथी लागेको आरोप एमालेका नेता तथा पूर्व सांसद ढकालले उपाध्यक्ष गौतमको हाइकमाण्डलाई नै थुपारी दिएका छन् ।

‘जसलाई बामदेव कमरेडले धेरै विश्वास गर्नुहुन्छ, उहाँहरूकै कारण पराजय भयो । तर, अन्तरघातको आरोप हामीमाथी लाग्यो’, ढकालले भनेका छन्, ‘यो श्याम ढकाल, बामदेव कमरेडका २८ हजार मत खान सक्ने व्यक्ति होइन, २८ हजार मत मेरो हातमा पनि छैन ।’

प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेस बर्दियाका जिल्ला सभापति एवम् सिँचाइमन्त्री सञ्जय गौतमसँग एमालेका उपाध्यक्ष गौतम पराजित भएका थिए ।

त्यसपछि गौतमले आफूलाई एमालेका नेता श्याम ढकालसहितका नेताहरूले आफूलाई पराजित गराउन भूमिका खेलेको भन्दै किटानीसहित एमालेको केन्द्रीय कार्यालयमा उजुरी दिएका थिए ।

Published : Tuesday, 2017 December 26, 7:23 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया