कांग्रेससँग यसकारण हारेका हुन् वामदेव, यस्ता छन् चर्चित घटना

काठमाडौं । एमाले उपाध्यक्ष वामदेव गौतम प्रतिनिधिसभा निर्वाचनमा पराजय हुनुको कारण पत्ता लगाउने टोलीले दोस्रो पटक पुनः छानविन गर्ने भएको छ ।

पहिलो चरणमा स्थानीय अन्तर्विरोध र उम्मेदवार आफ्नै कार्यशैलीले हारमा मलजल पुर्‍याएको निष्कर्ष निकालेको छ ।

वामगठबन्धनको एक सुत्रधार मानिएका उपाध्यक्ष गौतम आफ्नै क्षेत्रमा थोरै मतको अन्तरालले पराजित भएको विषयलाई लिएर केन्द्रबाट गठित केन्द्रीय सदस्य वैजनाथ चौधरीको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन भएको छ ।

सदस्यमा प्रदेश कमिटी सचिव भुमीश्वर ढकाल र कार्यालय सचिव गोपाल भट्टराईको सदस्य रहेको समितिले तीन दिन स्थानीय तवरमा सोधपुछ गरी प्रतिवेदन तयार पारेको एमाले पार्टीले जनाएको छ ।

पार्टीका एक नेताले उक्त प्रतिवेदन केन्द्रमा समेत पठाइएको र पुनः छानविन गर्नुपर्ने भनि काम थपिएको जानकारी दिए । संयोजक चौधरीले यसै साताबाट पराजयको कारण पत्ता लगाउन पुन काम थालिने र त्यसका लागि बर्दिया जाने बताए ।

एमाले जिल्लाका अध्यक्ष हरिप्रसाद ज्ञवालीलाई गुलरिया, पूर्ण शर्मालाई बारबर्दिया, पूर्व सांसद श्याम ढकाललाई बढैयाताल लगायत सीमित क्षेत्रको जिम्मा दिएको, परिचालनमा गौतमले ध्यान नदिएको जस्ता कारण समेत पहिलो चरणको छानविनमा देखिएको स्रोतले जनाएको छ ।

‘जिल्लाका भन्दा बाहिरी नेतालाई ल्याएर परिचालनमा जिम्मेवारी दिनु परिवारवाद लाद्न खोज्नु, आफू अन्तिमपटक उक्त क्षेत्रमा उठ्न आएको र अर्को पटक छोरा हरिश उठ्ने भनी प्रचार गरिनु, श्रीमती तुलसालाई समानुपातिक उम्मेदवार बनाउनुजस्ता कारण पनि देखिएका छन्’,,,ु स्रोतले बतायो ।

अघिल्लोपटक निर्वाचन जितेपछि जिल्ला नफर्कनु, माथिल्लो पदमा बस्दा शिक्षित युवा वेरोजगारलाई वेवास्ता गर्नु, बर्सेनि आउने बाढीले समस्या पर्दा मतदाता माझ नआउने जस्ता कारण समेत समितिले पाएको थियो ।

समितिले पूर्व सांसद श्याम ढकालदेखि लिएर युवा नेता खड्गबहादुर खड्का समेतलाई अन्तरघात गरेको शंकामा छानविन तीब्र पारेको छ । पूर्व सांसद ढकालले निर्वाचनका समय आफूलाई परिचालित गरिएको बढैयाताल गाउँपालिकाको मत धेरै आएको बताए ।

चुनावका बेला गौतमको क्षेत्रमा भारतीय नम्बर प्लेटका गाडी परिचालन हुँदा जनताले रोष प्रकट गरेको विषय समेत छानविनको दायरामा परेको छ ।

वामपन्थीको गढ मानिएको यस क्षेत्रमा एमाले उपाध्यक्ष गौतमको पराजयलाई पार्टीले गम्भीर रुपमा लिएको छ ।

कांग्रेसका जिल्ला सभापति एंव सिँचाइमन्त्री सञ्जयकुमार गौतमसँग ७ सय ५३ मतको अन्तरालले उपाध्यक्ष गौतम पराजित भएका थिए । मतपरिणाम अनुसार कांग्रेसका गौतमले ४४ हजार ८ सय २९ मत प्राप्त गरेका थिए । एमालेका गौतमले ४४ हजार ७६ मत प्राप्त गरेका हुन् ।

एमालेका नेता गौतम तीस हजार बढी मतले विजयी हुनेमा ढुक्क थिए । उनले कमजोर ठानेको कांग्रेसको बढी मत भएको सदरमुकाम गुलरियामा डेरा लिई निर्वाचनको अधिकांश समय सदरमुकाममा बिताएका थिए ।

कांग्रेका उम्मेदवार सिँचाइमन्त्री सञ्जय गौतम छोटो अवधीमा रम्मापुर—गुलरिया सडक–खण्ड निर्माणका लागि बजेट निकासा गर्नु, बबई नदी व्यवस्थापनका लागि ३ अर्ब ९२ करोडको गुरुयोजना सुरु गर्नु, गुलरिया—मुर्तिहा नाका सञ्चालन गर्न पहल गर्नु लगायतका कामले मतदाता प्रभावित भएका हुन ।

सिँचाइमन्त्री भएपछि उनी २८ पटक जिल्ला आएर स्थानीयसंग विकास निर्माणका विषयमा छलफल गर्नुले पनि मतदाता आर्कषित भएको स्थानीय बताउँछन् ।

Published : Monday, 2017 December 25, 8:20 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया