माओवादी नेताको प्रस्तावले ओलीलाई झट्का, प्रधानमन्त्रीमा ‘प्रचण्ड’ प्रस्तावित

रौतहट । विनाविभागीय मन्त्री एवम् माओवादीका नेता प्रभु साहले राजनीतिक स्थिरताका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ सरकार गठन गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनावअघि एमाले र माओवादी केन्द्रबीच अढाई/अढाई वर्ष सरकारको नेतृत्व गर्ने र हरेक पक्षमा माओवादीले चालीस प्रतिशत सिट पाउने भद्र सहमति भएको बताउँदै बिनाविभागीय मन्त्री साहले शान्तिप्रक्रिया र संविधान निर्माणका अनेक विषयलाई सम्बोधन गर्न सरकारको नेतृत्व गर्ने अढाई वर्षको पहिलो पालो प्रचण्डलाई दिँदा उपयुक्त हुने बताएका हुन् ।

पहिलो अढाई वर्ष दाहालले सरकारको नेतृत्व गर्दा मधेसी, आदिबासी, जनजाति, मुस्लिम तथा पिछडिएको वर्गको सहानुभूति प्राप्त हुने र संविधानमा रहेका असन्तुष्टि सम्बोधन गर्न पनि सबैको साथ लिन सकिने साहको बुझाइ छ ।

एमाले र माओवादी गठबन्धनले ६ वटै प्रदेशमा पनि स्पष्ट बहुमत प्राप्त गरेको तर प्रदेश २ मा भने वाम गठबन्धनको राम्रो जनाधार नहुनुमा मधेसका जनताको वामपन्थीप्रति असन्तुष्टि रहेको प्रस्ट भएको उनले बताए । उनले मधेसमा वामपन्थीको जनाधार बढाउने पनि दाहालकै नेतृत्वमा नयाँ सरकार बन्नुपर्ने जिकिर उनको थियो ।

मन्त्री साहले निर्वाचनमा माओवादी केन्द्रले भन्दा एमालेले राम्रो प्रदर्शन गरेको भन्दै केही नेताले दम्भ प्रकट गर्न थालेको पनि मन्त्री साहले बताए ।

उनले चुनावअघि भएको सम्झौता र भद्र सहमतिलाई दुवै पक्षले अक्षरशः पालन गरे वाम गठबन्धनमा कुनै विवाद नआउने स्पष्ट पारे ।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट मन्त्री भएका साहले एमालेको व्यवहारमा वाम एकता निर्भर रहने पनि बताए । उनले भने, ‘नेपाली जनताले वाम गठबन्धनलाई वाचाअनुसार पाँच वर्ष सरकार चलाउन बहुमत दिएकाले स्थिर सरकार र राजनीतिक स्थिरता दुवैका लागि इमानदार भएर एमाले र माओवादीले सहकार्य गर्नुपर्छ ।’

Published : Sunday, 2017 December 24, 11:55 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया