नेविसंघका अध्यक्षविरुद्ध ठूलो भेला, देउवा–पौडेलसम्म पुग्यो कुरा

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टाराईको ९४ औँ जन्मजयन्तीको अवसर पारेर वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका युवा विद्यार्थीले पार्टी र भातृ संगठनभित्र सुधारको अभियान सुरु गरेका छन् ।

नेपाल विद्यार्थी संघका बहुमत केन्द्रीय पदाधिकारी एवं सदस्यहरूको शनिबार बाल्मीकि विद्यापीठमा भएको भेलाले पार्टी र संघभित्र सुधारका लागि १० बुँदे मागपत्र तयार पारेको छ ।

माग पत्रमा अविलम्ब विधान अधिवेशनको माग गरिएको छ । नेविसंघका अध्यक्ष नैनसिंह महरले जथाभावी चन्दा उठाएर पैसा हिनामिना गरी संघको बदनाम गरेको आरोप असन्तुष्ट समूहको भेलाले लगाएको छ ।

मागपत्र आइतबार पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइने संघकी उपाध्यक्ष उर्मिला थपलियाले जानकारी दिइन् । उनले मागहरू पूरा नभए केन्द्रदेखि ईकाईसम्म समानान्तर समितिहरू गठन गर्ने चेतावनी दिएकी छिन् ।

‘रुपान्तरित कांग्रेसका लागि सदृढ नेवि संघ’ अभियानअन्तर्गत भेला गरिएको उनले बताइन् । भेलामा ११ औँ महाधिवेशनमा अध्यक्षका प्रतिष्पर्धी मनोजमणि आचार्य समूहका नेताको सहभागिता थियो । जसमा ६४ सदस्यीय केन्द्रीय समिति मध्ये बहुमतको उपस्थिति थियो । आचार्य कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूह निकटका मनिन्छन् ।

‘स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको हार पार्टी र भ्रातृ संस्था सबैको अकर्मण्यताका कारण भएको हो, अब सुधारको शुरुवात हुनुपर्छ, सुधार अभियान नेवि संघबाट गर्न हामी लागेका छौँ, भेलाले तयार पारेको मागपत्र सभापति वरिष्ठ नेता र महामन्त्रीलाई बुझाउँछौँ’, उनले भनिन् ।

एक हप्ताभित्र अधिकांश नेता कार्यकर्ताको भावनाबमोजिम संगठनमा सुधार नगरिए समानान्तर समिति गठन गर्नसमेत बाध्य हुनुपर्ने नेताहरुको भनाइ छ ।

निर्वाचनका बेला नेवि संघ अध्यक्ष नैनसिंह महर प्रचारप्रसार छोडेर विधान विपरीत आमन्त्रित केन्द्रीय सदस्य र महामन्त्रीको चिट्ठी बाँडेर बसेको नेताहरूको गुनासो थियो ।

‘बलियो कांग्रेसका लागि सशक्त नेवि संघ’ अभियान पनि संगै सुरु गरिने विद्यार्थी नेताहरूको भनाइ छ ।

अध्यक्ष महरले विवाद भएका जिल्ला र क्याम्पसमा अर्को अधिवेशन नगराउँदा संगठन विस्तार नभएको आरोप विद्यार्थी नेताहरूको छ ।

यस सम्बन्धमा अध्यक्ष महरसँग प्रतिक्रियाका लागि सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

Published : Sunday, 2017 December 24, 6:57 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया