तीन हप्ताभित्रै ओलीको नेतृत्वमा सरकार बन्छ : ज्ञवाली
काठमाडौं । एमालेका सचिव प्रदीप ज्ञवालीले अबको तीन हप्ताभित्रै केपी ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले ओली नै प्रधनमन्त्री बन्ने बताएका हुन् । उनले भने, ‘सरकारको प्राथमिकता राष्ट्रियता, सुशासन, राजनीतिक स्थिरता हुनेछ ।’
नेपाली जनताले यीनै उद्देश्य पूरा गर्नको लागि वाम गठबन्धनलाई विश्वास गरेर अमूल्य मत दिएको उनको भनाई थियो ।
निर्वाचन सम्पन्न भएको लामै समय भैसकेको भएपनि वर्तमान सरकारले नयाँ सरकार गठनको लागि मार्गप्रशस्त नगरेको भन्दै उनले दुःख व्यक्त गरे ।
ज्ञवालीले भने, ‘वर्तमान सरकारले विभिन्न बहाना गरेर खासगरी राष्ट्रिय सभासम्बन्धी अध्यादेशमा एक खालको अग्र्याल्याँई झिकेर सहज सत्ता हस्तान्तरणमा असहजता उत्पन्न गरिरहेको स्थिति देखिन्छ ।’
राष्ट्रिय सभा गठन नभईकन नयाँ सरकार बन्नै सक्दैन भन्नु गलत र भ्रमको खेती भएको उनको टिप्पणी थियो ।
उनले एमाले–माओवादी केन्द्रवीचको पार्टी एकता कसैले चाहेरपनि नरोकिने जिकिर गरे । उनले भने, ‘छिट्टै एकता हुन्छ । एकताको लागि सघन रुपमा गृहकार्य अघि बढ्छ, हामी छलफलमा जुटिसकेका छौं ।’
पार्टी एकीकरणका बेला नेताहरूको व्यवस्थापनमा भन्दा पनि देशको व्यवस्थापनमा ध्यान उनले बताए ।
यसमा तपाइको मत