माओवादी पैसामा बिक्री भएपछि आफू हारेको गौतमको रिपोर्टिङ

काठमाडौं । एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टीका नेताहरूले गर्दा आफू पराजित भएको भन्दै दोषीलाई कारबाही गर्न दवाव दिएका छन् ।

ललितपुरको भैँसेपाटीस्थित निवासमा शुक्रबार बसेको स्थायी समितिको बैठकमा गौतमले आफू पराजय हुनु परेको कारणसमेत दिएका थिए । बर्दिया १ मा वामदेवको पराजय अनपेक्षित रहेको नेताहरूले बैठकमा राखेका थिए ।

स्रोतका अनुसार बैठकमा गौतमले आफू हार्नुका पछाडि धेरै कारण रहेको भन्दै पार्टीभित्रकै अन्तर्घात, माओवादी कार्यकर्ता बिक्री हुनु र केही आफ्नै कमजोरी पनि सहायक रहेको बताएका थिए ।

गौतमले आफूलाई हराउन लाग्ने केही नेताहरूको नामै लिएर बैठकमा जानकारी गराएको स्रोतले बताएको छ ।

गौतमले आफूलाई हराउन सोही क्षेत्रबाट उपचुनाव जितेका पूर्वसांसद श्याम ढकाल, आफूविरुद्ध बागी उम्मेदवार उठेर पछि फिर्ता लिएका खड्ग खड्का र दामोदर अर्याल लगायत ८ जनाको नाम लिएको स्रोतले जनाएको छ ।

गौतमले माओवादीका जिल्लास्तरीय नेतादेखि गाउँसम्मका कार्यकर्ताहरू कांग्रेसको पैसामा बिकेको सुनाएका थिए ।

बिगतमा बर्दिया १ छाडेर प्यूठान रोज्नु र पछि प्यूठान छाडेर बर्दिया फर्किनु पनि कमजोरी रहेको बैठकमा कुरा उठेको थियो । गौतमले चुनावमा उम्मेदवारी दर्तादेखि नै आफूविरुद्ध षडयन्त्र भइरहेको थाहा पाउँदा पनि अन्तर्घात रोक्न नसकेको बैठकमा बताए ।

एमालेले वामदेव गौतमको पराजयको कारण छानविन गर्न दुईवटा समिति बनाइसकेको छ । ५ नम्बर प्रदेश संयोजक विष्णु पौडेलले बैजनाथ चौधरीको संयोजकत्वमा प्रदेशस्तरीय कमिटी गठन गरेका छन् ।

बर्दिया जिल्लामा जिल्ला अध्यक्ष हरि ज्ञवालीको संयोजकत्वमा अर्को कमिटी बनेको छ ।

बैठकमा सरकार गठन, पार्टी एकता र चुनावको सन्दर्भमा रिपोर्टिङ भएको स्थायी कमिटी सदस्य किरण गुरुङले बताए ।

Published : Saturday, 2017 December 23, 9:42 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया