एमाले–माओवादीबीच गोप्य तयारी, यसरी हुँदैछ पद बाँडफाँड

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच पार्टी एकतासँगै सिद्धान्त, नेतृत्व तथा पद बाँडफाँटको व्यवस्थापनबारे छलफल अघि बढेको छ ।

निर्वाचनलगत्तै पार्टी एकता गर्ने सहमतिसहित चुनावी तालमेल गरेका दुई दलले पार्टी एकतापछि नेतृत्व र अन्य पदीय बाँडफाँटको विषय कसरी टुंग्याउने भन्ने विषयमा छलफल अघि बढाएका हुन् ।

दुई दलका अध्यक्षबीच यो विषयमा छलफल अघि बढे पनि पार्टी एकता संयोजन समिति तहमा औपचारिक रूपमा भने छलफल भएको छैन ।

पार्टी नेतृत्वका विषयमा दुई दलबीच सार्वजनिक रूपमा विभिन्न धारणा सार्वजनिक भइरहेको छ । पछिल्लो समय पदीय जिम्मेवारी तथा सांगठनिक स्वरूप र सैद्धान्तिक एवं वैचारिक विषयमा छलफल सुरु भएको हो ।

माओवादी केन्द्रका एक नेताका अनुसार पार्टी एकताको विषय शीर्ष तहमा ‘वान टु वान’ सहमति गरेपछि यसलाई अन्तिम रूप दिने तयारीका साथ छलफल भइरहेको छ । निर्वाचनअघि पार्टी एकता संयोजन समितिका अध्यक्षद्वयले सरकार र पार्टीको नेतृत्व एकअर्का पार्टीले आलोपालो गर्ने भद्र सहमति गरेका थिए ।

शीर्ष तहमा पदीय जिम्मेवारी तथा संठनात्मक स्वरूपबारे तीनवटा विकल्पसहित छलफल चलिरहेको स्रोतले बतायो । एमालेका तर्फबाट दुई अध्यक्ष सम्मिलित अध्यक्षमण्डल बनाएर जाने प्रस्ताव छ ।

उक्त प्रस्तावमा माओवादी नेताहरू राजी भइनसकेको बताइएको छ । एमाले नेताहरूले भने महाधिवेशनसम्म दुई अध्यक्ष सम्मिलित अध्यक्षमण्डल गठन गरेर जाँदा वैज्ञानिक हुने तर्क गरेका छन् ।

माओवादी नेताहरूले भने एउटा अध्यक्षले सरकार चलाउने, अध्यक्ष भएकाले पार्टी संगठनमा पनि सहभागी हुने हुँदा अर्को अध्यक्ष सेरेमोनियलजस्तो देखिने भन्दै उक्त प्रस्तावमा सहमत देखिएका छैनन् ।

दोस्रो विकल्पका रूपमा दुवै पार्टीका सबै कमिटी भंग गरेर महाधिवेशन आयोजक समिति तय गरेर जाने विषयमा छलफल भइरहेको छ । माओवादी केन्द्रले सरकारको नेतृत्व एमालेले लिए पार्टी संयोजक आफ्नो भागमा आउँदा दोस्रो विकल्पलाई मान्ने जनाउ दिएको छ ।

तेस्रो विकल्पका रूपमा पार्टी अध्यक्षसहित पदाधिकारी तोकेरै आगामी महाधिवेशनसम्म जानेगरी छलफल चलिरहेको छ । तेस्रो विकल्पमा एक जना अध्यक्ष, तीन जना उपाध्यक्ष, दुई जना महासचिव र सात जना सचिव तय गरेर जानेगरी छलफल भइरहेको छ ।

स्रोतका अनुसार माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठलाई वरिष्ठ नेता मान्ने, तीन उपाध्यक्षमा दुई एमाले र एक माओवादी केन्द्रबाट, दुई महासचिवमा दुवै पार्टीका एक–एक जना राख्ने, सात सचिवमा एमालेका तर्फबाट चार वा पाँच र माओवादीबाट दुई वा तीन जना राखेर प्रदेश हेर्नेगरी छलफल चलिरहेको छ ।

शीर्ष तहमा भएको छलफलमा सरकारमा मन्त्रीका रूपमा जाने व्यक्तिलाई पार्टीको जिम्मेवारी नदिने र पार्टीमा जिम्मेवारी पाउनेले सरकारमा अवसर नपाउनेगरी खाका तय गर्ने तयारी भइरहेको समेत स्रोत बताउँछ ।

सरकार गठन र पार्टी एकतासँगसँगै अघि बढाउने बताउँदै आएका शीर्ष नेताहरूले पार्टीभित्र एकताको विषयमा अनेकथरी चर्चा चलेपछि एकताको खाका चाँडै टुंग्याउनेगरी प्रयास थालेका हुन् ।

माओवादी बैठकको निर्णयसँगै एमाले अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिवालय सदस्यद्वय सुवास नेम्वाङ र शंकर पोखरेलबीच मंगलबार गोप्य छलफल भएको छ ।

उनीहरूबीच पार्टी एकताको विषयमा कुराकानी भएको छलफलमा सहभागी एक नेताले बताए । एमाले नेता सुवास नेम्वाङले भने एकताको विषय अघि बढिसकेको भन्दै चाँडो टुंगो लगाउने तयारी भइरहेको बताए ।

Published : Wednesday, 2017 December 20, 7:06 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया