कांग्रेस–एमाले विवाद अन्त्य गर्न माओवादीले ल्यायो नयाँ जुक्ति

काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सभा गठनसम्बन्धि देखिएको विवादको समाधान राजनीतिक सहमतिमा खोज्नुपर्ने निष्कर्ष निकालेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा सोमबार बसेको कार्यालयको बैठकमा यस्तो निष्कर्ष निकालिएको हो ।

‘राष्ट्रिय सभा गठन सम्बन्धि विवाद राजनीतिक विषय हो । यसलाई राजनीतिक सहमतिकै आधारमा समाधान गर्नुपर्छ भन्ने बैठकले निष्कर्ष निकालेको छ’, प्रवक्ता पम्फा भुसालले भनिन्, ‘शीर्ष नेताहरू बसेर सहमति खोज्नुपर्ने निष्कर्ष निकालेका छौं त्यसैअनुसार अघि बढ्छौं ।’

बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै निर्वाचन आयोग, राजनीतिक दल, सुरक्षा अङ्ग, राष्ट्रसेवक कर्मचारी, नेपाल सरकार, कुटनीतिक नियोग र सम्पूर्ण मतदातामा धन्यवाद प्रकट गरेको छ ।

माओवादीले बाम गठबन्धन बनाएर चुनावमा होमिदा परिणाम सकारात्मक आएको भन्दै पार्टी एकता र गठबन्धनलाई जनताले अनुमोदन गरेको निष्कर्ष निकालेको छ । बैठकले नयाँ सरकार गठनका लागि छलफललाई घनिभूत बनाउने निर्णय पनि गरेको छ ।

‘जनताले बाम गठबन्धन र पार्टी एकतालाई अनुमोदन गरिसकेका छन् । पार्टी एकता र सरकार गठन सँगसँगै अगाडि बढ्छ, अब पार्टी एकता कसैले रोकेर रोकिँदैन’, प्रवक्ता भुसालले भनिन् ।

समानुपातिकमा माओवादी केन्द्रको कम मत आउनुमा ६०५ स्थानमा उम्मेदवार नहुनु र समानुपातिक तर्फको व्यवस्थित प्रचार नहुनु मुख्य कारण रहेको पनि प्रवक्ता भुसालले जानकारी दिइन् ।

Published : Monday, 2017 December 18, 6:34 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया