समानुपातिकमा कांग्रेसको सकारात्मक पोजिसन, धेरै अगाडि छैन एमाले

काठमाडौं । प्रदेश र प्रतिनिधि सभामा प्रत्यक्षमा नराम्रोसँग पराजय भोगेको कांग्रेसले समानुपातिकमा भने सकारात्मक पोजिसन बनाएको छ ।

प्रत्यक्षमा प्रतिनिधिसभातर्फ ८० र प्रदेशसभातर्फ १ सय ६८ स्थान जितेको एमालेले समानुपातिकमा ३१ लाख ७३ हजार ४ सय ९५ मत पाएको छ ।

प्रत्यक्षतर्फ प्रतिनिधिसभामा २३ र प्रदेशसभामा ४१ सिट जितेको कांग्रेसले समानुपातिकमा ३१ लाख तीन हजार ७ सय २१ मत ल्याएको छ । कांग्रेसले एमालेलेभन्दा ४५ हजार १ सय ५ मत मात्रै कम पाएको हो ।

समानुपातिक मत परिणामअनुसार एमालेले ४१ र कांग्रेसले ४० स्थान प्राप्त गर्नसक्ने देखिएको छ ।

एमालेले प्रत्यक्षतर्फ कांग्रेसभन्दा प्रतिनिधिसभामा ५७, प्रदेशसभामा १२७ र समानुपातिकमा एक सिट बढी पाउने भएको छ ।

पपुलर मतमा कांग्रेस–एमाले हाराहारीकै अवस्थामा रहेको समानुपातिक परिणामले देखाएको छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीको पदप्राप्ति र त्यसलाई जोगाउने कार्यले पार्टी जोगिन नसकेको बताए ।

एमाले नेता सुवास नेम्बाङले यसअघिका दुई चुनावमा पहिलो स्थानमा रहेको कांग्रेस अहिले समानुपातिक मतमा दोस्रो हुनु नै उसको पराजय भएको बताए ।

राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले प्रत्यक्षमा हारेको कांग्रेसले उत्साहजनक रूपमा पपुलर मत पाउनुमा जनताको कांग्रेसप्रतिको प्रेम कारण रहेको बताए ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नरायणमान बिजुक्छेले कांग्रेस र एमालेले पाएको मत परिणामलाई असन्तुलित लेनदेनको परिणामका रूपमा लिएको बताए ।

नेकपा (माले)का महासचिव चन्द्रप्रकाश मैनालीले यस पटकको चुनावी परिणाम अमिल्दो रूपमा आएको बताएका छन् ।

Published : Monday, 2017 December 18, 7:43 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया