‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा कांग्रेसको पूर्ण समर्थन

काठमाडौं । खानेपानी तथा सरसफाईमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री स्वीकार्न आफूहरू तयार रहेको स्पष्ट पारेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा मन्त्री यादवले मुलुक अग्रगमनको बाटोमा अघि बढिसकेकोले एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बने परिवर्तनका उपलब्धिहरू सबै गुम्नसक्ने आरोप लगाए । प्रचण्ड प्रधानमन्त्री बने कांग्रेसले समर्थन गर्ने उनको भनाइ थियो ।

उनले भने, ‘निर्वाचन भएर मुलुक संविधानको पूर्ण कार्यान्वयनको चरणमा छ, यो अग्रगमनको बाटोमा अघि बढिसक्यो, पछि हट्ने कुनै संभावना छैन, उत्ताउलो भएर केही चल्दैन ।’

संघीयता, गणतन्त्र, समावेवशीजस्ता परिवर्तनका मुद्दाहरू स्थापित भएको भन्दै मन्त्री यादवले भने, ‘माओवादी–एमालेको पिछलग्गु हुनुहुँदैन, किनकी एमालेले त यी सबै उपलब्धिहरू गुमाउने तरखरमा छ ।’

मन्त्री यादवले एमालेले उपलब्धिलाई गुमाउन सक्ने आरोप लगाउँदै त्यसबाट बचाउनको लागि पनि देशको अभिभावकको भूमिकामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आउनुपर्ने बताए ।

‘प्रचण्डजी प्रधानमन्त्री बन्नुभयो भने सबैलाई समेटेर लैजान सक्नुहुन्छ, परिवर्तनकारी उपलब्धिहरू संस्थागत हुन्छन्’, उनले भने, ‘प्रचण्डबाट मात्रै यी उपलब्धिहरू रक्षा हुन सक्छन्, उहाँ आँफै प्रधानमन्त्रीको रुपमा अघि बढ्नुपर्छ, कांग्रेसको पूर्ण समर्थन रहन्छ ।’

उनले एमाले अध्यक्ष ओलीलाई भड्काउ नेताको रुपमा चित्रण समेत गरे । यादवले भने, ‘ओलीजी अतिवादी कुरा गर्ने नेता हो, उहाँ दुई वटा कुरा गर्नुहुन्छ, देशलाई त अहिले सबैलाई मिलाएर लैजान सक्ने नेता चाहिएको छ, त्यो भनेको प्रचण्ड हो ।’

Published : Thursday, 2017 December 14, 5:02 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया