देउवाले गरेका निर्णय नयाँ सरकारले उल्ट्याइ दिन्छः एमाले

काठमाडौं । एमालेले शेरबहादुर देउवा नेतृत्वको कामचलाउ सरकारले गरेका निर्णयहरूलाई नयाँ बन्ने सरकारले उल्ट्याइ दिने चेतावनी दिएको छ ।

एमालेका महासचिव ईश्वर पोख्रेलले सोमबार प्रेस विज्ञप्ति जारी गरेर कामचलाउ सरकारले गरेका निर्णय र कामहरूलाई अब बन्ने एमाले नेतृत्वको नयाँ सरकारले निरन्तरता नदिने बताएका हुन् । उनले राजनीतिक नियुक्ति लगायतका कुनैपनि दीर्घकालीन निर्णय नलिन सरकारलाई चेतावनी दिएका छन् ।

‘‘प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएलगत्तै काम चलाउ हैसियतमा सीमित हुनपुगेको वर्तमान सरकारले विभिन्न निकायमा राजनीतिक नियुक्तिहरू गरेको/गर्न लागेको विषयप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

एमालेले प्रदेश प्रमुख र त्यससँग सम्बन्धित विभिन्न निर्णयहरू गर्न लागेको सूचनाप्रति पनि आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

एमालेले गोरखापत्र संस्थान, दुग्ध विकास संस्थान, चलचित्र विकास बोर्ड र राष्ट्रिय आमसञ्चार प्रतिष्ठान लगायतमा नियुक्ति गरी मौका छोप्न खोज्नु सरकारको दुराशय र जनादेशविपरीत कदम भएको जनाएको छ ।

बाम गठबन्धनले देशमा बहुमत ल्याईसकेको अवस्थामा सरकारले गरेको राजनीतिक नियुक्तिको एमालेले विरोध जनाएको हो ।

Published : Monday, 2017 December 11, 6:21 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया