जब उपेन्द्र यादव ४१ वर्षपछि आफूले पढेको स्कूल पुगे…

सप्तरी । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका लागि शुक्रबारको दिन निक्कै नै गम्भीर र मार्मिक बन्यो, जब ऊनि आफूले बाल्यकालमा अध्य्यन गरेको स्कूल पुगे ।

एकचालिस वर्षपछि आफुले अध्ययन गरेको विद्यालयमा शुक्रबार पुगेका फोरम नेपालका अध्यक्ष यादवको अनुहारमा आश्चर्य तथा गम्भीरता दुवै झल्कियो । ‘ओ हो ! यो भवनको छत त जिर्ण भएछ’ आफु पढ्दाको विद्यालय भवन नियाल्दै उनले भने ‘मर्मत सम्भार भएन भने खतरा छ ।’

आफुले अध्ययन गरेको सप्तरीको बभनगामाकट्टी स्थित लक्ष्मी बल्लभ नरसिंह उच्च माध्यमिक विद्यालय पुग्दा उनलाई किशोरावस्थाको चित्र मानसपटलमा उत्रिएछ । अनि भने ‘हामी पढ्दा यो एउटा मात्र भवन थियो, तर, अहिले छेउछाउमा थप भवनपनि बनेछन् विद्यालयको आकारपनि बढेछ ।’ करिब आधा घण्टा विद्यालय प्राङ्गणमा विताएका उनले त्यतिबेलाको एक तल्ले छात्रावास समेत अवलोकन गर्न भ्याए । उक्त छात्रावास यतिबेला दुई तल्ले छ ।

विद्यालयमा प्राचार्य सूर्यनारायण साह लगायत अन्य शिक्षकहरुले गरेको स्वागत ग्रहण गर्दै उनले त्यहाँको समस्याका बारेमा जानकारी समेत लिए ।

यादव कुनै समय यसै विद्यालयको विद्यार्थी रहेको कुरा थाहा पाएपछि उनलाई हेर्न झुम्मिएका बालबालिकाहरुको भिडमा पनि उनले केहीबेर समय दिएका थिए । ‘राम्रोसित पढेर ठूलो मानिस बन्नू’ विद्यार्थीहरुसित रमाइलो मान्दै यादवले सल्लाह दिए ‘पढेपछि मात्र भविष्यको चुनौतिलाई सामना गर्न सकिन्छ ।’

विद्यालयमा पुरानो भवन मर्मत सम्भारको आवश्यकता लगायत अन्य समस्याको बारेमा प्राचार्य साहले उनलाई जानकारी गराएका थिए । साहको कुरा सुनिसकेपछि बिदा हुने बेलामा उनले विद्यालयको निरीक्षण पुस्तिकामा मन्तव्य समेत लेख्न भ्याए ।

उनले विद्यालयमा लामो समयको अन्तरालपछि आउन पाउँदा खुशी व्यक्त गर्दै आधुनिक विज्ञान र प्राविधिक शिक्षा प्रदान गर्ने संस्थाको रुपमा विद्यालयले विकास गर्न सकोस् भनी शुभकामना लेखे ।

२०३३ सालमा एस.एल.सी. परीक्षा दिएपछि यादव पहिलो पटक शुक्रबार त्यहाँ पुगेका हुन् । अध्यक्ष यादव यसपटक चुनाव लडेको सप्तरीको क्षेत्र नम्बर २ मै उक्त विद्यालय समेत अवस्थित छ । जन्मस्थान सप्तरीनै रहेपनि यसअघि यादव मोरङ्ग र सुनसरीबाट चुनाव लड्दै आएका थिए ।

Published : Friday, 2017 December 1, 10:52 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया