‘बिभत्स’ भिडियो देखाउन खोज्दा झडप, चारजना घाइते

गौर । रौतहटको महम्दपुरमा संघीय समाजवादी फोरमका कार्यकर्ता र र प्रहरीबीच झडप हुँदा चार जना घाइते भएका छन् ।

संघीय समाजवादी फोरम नेपालका प्रदेशसभा ३ ‘ख’ का उम्मेदवार बृजकिशोर यादवका समर्थकहरूले चुनावी प्रचारप्रसारको क्रममा मधेश आन्दोलन सम्बन्धी डकुमेन्ट्री गाउँमा देखाउन खोज्दा प्रहरीले अवरोध गरेपछि भएको झडप भएको हो ।

रौतहटको क्षेत्र नं ३ मा पर्ने गरुडा नगरपालिका वडा नं ५ उम्मेदवार यादवको पकड क्षेत्रमा झडप भएको हो ।

सो क्षेत्रमा मधेस आन्दोलनमा प्रहरीले ज्यादती गरेको, गोली चलाएको, आन्दोलनका क्रममा मारिएका व्यक्तिको परिवार रोएको आदि दृश्य रहेको डकुमेन्ट्री देखाउने तयारी गरिरहेको थाहा पाएपछि रौतहट प्रहरी त्यसलाई रोक्न गाउँ पुगेको थियो ।

उम्मेदवार यादवको पकड क्षेत्र भएकोले स्थानीय र प्रहरीबीच झडप हुन पुगेको थियो । झडपका क्रममा महम्मदपुरका प्रमोद दास, सुखल राय यादव, रामविनोद यादव, लक्ष्मी साह घाइते छन् ।

उनीहरू प्रहरीले लाठीचार्ज गर्दा टाउकोमा चोट लागेको छ । चार जनामध्ये प्रमोद र सुखलको अवस्था गम्भीर छ ।

यी दुबैको उपचार गरुडा अस्पतालमा भइरहेको छ भन्ने बाँकी दुई जनाको उपचार चन्द्रनिगाहपुरमा भइरहेको स्थानीय राजकुमार दास तात्वाले बताए ।

झडप बढ्न थालेपछि प्रहरीले ५० राउन्ड अश्रुग्यास तथा २० राउन्ड हवाई फायरसमेत गरेको तात्वा दावी गर्छन् । र्इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक गोविन्दा थापाले भने हवाई फायर नगरिएको बताए ।

उनका अनुसार आन्दोलनका विभत्स भिडियो देखाउन निर्वाचन आचार संहिताविरुद्ध भएकोले प्रहरीले रोक्न खोज्दा अवरोध गरिएपछि बल प्रयोग गरिएको थियो ।

Published : Friday, 2017 December 1, 9:27 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया