सिलवालको निर्देशनमा प्रहरीद्वारा गुनबहादुरका कार्यकर्ता पक्राउ

काठमाडौं । ललितपुर क्षेत्र नं. १ बाट प्रतिनिधी सभामा स्वतन्त्रबाट उम्मेदवारी दिएका गुनबहादुर थापा (शम्भु) आफ्नो चुनावी प्रचार प्रसारमा उत्रिएपछि प्रहरीले कार्यकर्ताहरुलाई पक्राउ गरेको छ ।

ललितपुरको चापागाउँको ताखेलबाट प्रहरीले बुधबार दिउँसो उम्मेदवार थापाका कार्यकर्ताहरुलाई पक्राउ गरेर चापागाउँ प्रहरी वृत्तमा राखेको हो । आफू प्रचार प्रसारमा लाग्दा एमालेका उम्मेदवार नवराज सिलवालको निर्देशनमा चापागाउँ प्रहरीले आफ्नो चुनावी कार्यक्रममा हस्तक्षेप गरी प्रचार प्रसारका सामाग्री सहित तीन जना कार्यकर्तालाई गिरफ्तार गरेको उम्मेदवार थापाले बताए ।

पक्राउ पर्नेहरुमा रोशन श्रेष्ठ कपाली, लाक्पा शेर्पा र रमेश थापा रहेका छन् । उनीहरुलाई प्रहरी वृत्त चापागाउँमा राखिएको छ ।

उम्मेदवार थापाले भने, ‘मेरो चुनावी प्रचार प्रसारबाट आत्तिएपछि पूर्व डिआईजी नवराज सिलवालले प्रहरी लगाई ममाथि फेरि ज्यादती गर्न थालेका छन् ।’ सिलवाल पदमा नरहँदा पनि उनको निर्देशनमा प्रहरी चल्न थालेपछि आफूलाई थप अन्याय भएको स्वतन्त्र उम्मेदवार थापाले बताए ।

थापाका कार्यकर्ताहरुले प्रचारहरु वितरण गर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको चापागाउँ प्रहरी वृत्तले जनाएको छ ।

यसअघि केही अनलाइनहरुमा पूर्व डिआईजी सिलवाल र थापाबीचको मिटर व्याज काण्ड तथा सिलवालले थापालाई विभिन्न झुठ्ठा मुद्दा लगाई थुनामा राखेर फसाएको समाचारहरु सार्वजनिक भएका थिए ।

Published : Wednesday, 2017 November 29, 5:19 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया