दाङ पुगेर देउवाले दिए कम्युनिष्टहरूलाई थ्रेट

तुलसीपुर । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एकदलीय कम्युनिष्ट शासन लाद्ने पार्टीलाई रोज्ने कि जनतालाई मालिक बनाउने पार्टीलाई रोज्ने भन्ने समय आएको बताएका छन् ।

दाङमा मंगलबार भएका तीनवटा चुनावी सभालाई सम्बोधन गर्दै देउवाले कम्युनिष्टहरूको शासन आए जनताले राम्रोसँग आफ्नो अधिकारका लागि बोल्न पनि नपाउने बताए ।

‘कम्युनिष्ट शासन आयो भने अन्याय भयो भन्न र रुन पनि पाइँदैन । त्यसैले काग्रेसलाई जिताउनुस् । त्यसपछि मात्रै जनताको अधिकार सुनिश्चित हुन्छ’, देउवाले भने ।

मंसिर २१ मा हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा कांग्रेसले जितेमात्रै जनताको अधिकार सुनिश्चित हुने उनले बताए । प्रधानमन्त्री देउवाले कांग्रेसले नजित्दा कांग्रेसकै नेतृत्वमा जारी भएको संविधानलाई च्यातेर कम्यु्निष्ट गठबन्धनले एकदलीय राष्ट्रपति प्रणाली लागू गर्ने भएकाले कांग्रेसलाई जिताउन आग्रह गरे ।

देउवाले मुलुकलाई सम्पन्न बनाउने पार्टी नै कांग्रेस भएको बताए । कांग्रेसलाई अन्तर्राष्ट्रिय समुदायले पनि विश्वास गरेकाले मुलुकमा विदेशी लगानी भित्र्याएर युवाहरूका लागि रोजगारीको सिर्जना गरिने उनले बताए ।

चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको सम्वृद्धि र विकासका लागि कांग्रेसलाई जिताउन आग्रह गरे । पौडेलले कम्युनिष्टहरूले समस्या समाधान होइन समस्या उब्जाउन मात्रै जान्ने भएकाले कांग्रेसलाई जिताउनुको अर्को विकल्प नभएको बताए ।

पौडेलले कम्युनिष्टहरुले जिते मुलुकको कल्याण नहुने र मुलुक विग्रहमा फस्ने दाबी गरे । उनले एमालेले हिमाल, पहाड र तराईका नाममा जातीय द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाउनु भयो। नेता पौडेलले वाम गठबन्धनलाई निर्वाचनमा पराजित गरेर जनताले यो पटक मुखभरिको जवाफ दिनुपर्ने बताए ।

महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसप्रति देखिएको जनलहरले कांग्रेसको जित सुनिश्चित भएको बताए । उनले मंसिर २१ गतेको निर्वाचनमा कांग्रेसलाई मत हाल्नासाथ जनताको भाग्यरेखा कोरिने बताए ।

Published : Tuesday, 2017 November 28, 7:34 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया