कम्युनिष्टहरूविरुद्ध ‘गर्जियो’ कांग्रेस, दियो यस्तो चेतावनी

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना नेता एवं कार्यकर्ताहरूको हत्या नै गर्ने मनसायले वाम गठबन्धनका कार्यकर्ता सांघातिक आक्रमणमा उत्रिएको आरोप लगाएको छ ।

कांग्रेसद्वारा शनिबार जारी प्रेस विज्ञप्तिमा वाम गठबन्धनका कार्यकर्ताहरूका क्रियाकलाप र गतिविधीहरूको विरोध गरिएको हो ।

नवलपुरको प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रदेशसभा क्षेत्र नं. १ का उम्मेदवार विष्णु लामिछाने सवार गाडीलाई लक्षित गरी शनिबार बिहान हुप्सेकोट गाउँपालिकाको वडा नं. ५ गोजापोखरी नजिक जिरो भञ्ज्याङमा कम्युनिष्ट गठवन्धनका कार्यकर्ताले बम प्रहार गरेको आरोप लगाएको छ ।

ओखलढुंगा चिसंखुगढी गाउँपालिका वडा नं. ३ का चुनाव प्रसार प्रसार समितिका संयोजक राजकुमार ढुंगाना लगायत ५ जना कांग्रेसका कार्यकर्तामाथि आक्रमण गरेको पनि कांग्रेसले जनाएको छ ।

शान्तिपूर्ण एवं निर्वाध रुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अघिकार माथि ठाडो उल्लंघन भएको भन्दै कांग्रेसले लोकतान्त्रिक संस्कार र संस्कृतिको उपहास गर्न खोजिएको आरोप लगाइएको छ ।

विज्ञप्ति

१.  नवलपुर जिल्ला प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रदेशसभा क्षेत्र नं. १ का नेपाली कांग्रेसका उम्मेदवार विष्णु लामिछाने चढ्नु भएको सवारी साधनलाई लक्षित गरी आज विहान हुप्सेकोट गा.पा.को वडा नं. ५ गोजापोखरी नजिक जिरो भञ्ज्याङमा कम्युनिष्ट गठवन्धनका कार्यकर्ताहरुले बम प्रहार गरेका छन् । बम प्रहारबाट उम्मेदवार सहित चुनाव प्रचारमा हिडेका पार्टीका कार्यकर्ताहरु बाँच्न सफल भएका छन् ।

२. ओखलढुंगा चिसंखुगढी गा.पा. वडा नं. ३ का चुनाव प्रसार प्रसार समितिका संयोजक राजकुमार ढुंगाना लगायत ५ जना नेपाली कांग्रेसका कार्यकर्ताहरु चुनावी कार्यक्रम सकी घर फर्कने क्रममा गए राति ८ बजे सोही गा.पा.को वडा नं. २ स्थित नेवार गाउँमा नकाव लगाएका कम्युनिष्ट गठबन्धनका कार्यकर्ताहरुले आक्रमण गरी उहाँहरु चढ्नु भएको गाडीलाई नियन्त्रणमा लिएका थिए । उहाँहरुलाई घाइते बनाएपछि स्थानीयको प्रतिरोधका कारण गाडीको चावी लिई आक्रमणकारीहरु भागेका थिए ।

नेपाली कांग्रेस र लोकतन्त्रप्रतिको उर्लदो अपार जनलहरबाट अतालिएर दिनानुदिन नेपाली कांग्रेसका नेता एवं कार्यकर्ताहरुलाई लक्षित गरी लोकतन्त्रलाई नै समाप्त पार्ने ढंगले कम्युनिष्ट गठवन्धनका कार्यकर्ताहरुले सुनियोजित तवरबाट बारम्बार यस प्रकारका घटनाहरु दोह¥याई रहनु अत्यन्त दुःखद विषय हो । नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक, पार्टीप्रति अगाध माया गर्ने आममतदाता यस घटनाबाट रत्तिभर विचलित हुनेछैनन् ।

नेपाली कांग्रेसका नेता एवं कार्यकर्ताहरुको हत्या नै गर्ने मनसायले गरिएको कम्युनिष्ट गठबन्धनको यस प्रकारको घृणित क्रियाकलाप र आक्रमणप्रति नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ । यस घटनाले शान्तिपूर्ण एवं निर्वाध रुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अघिकार माथि ठाडो उल्लंघन गरेको छ र लोकतान्त्रिक संस्कार र संस्कृतिको उपहास गर्न खोजिएको छ । यस प्रकारका अवांछित क्रियाकलापहरु पुनः नदोहोर्‍याउन नेपाली कांग्रेस चेतावनी दिन चाहन्छ । साथै, घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल खोजी गरी कडा भन्दा कडा कार्वाही गर्न र घाइतेहरुको उचित उपचारको प्रबन्ध गर्न नेपाली कांग्रेस सरकारसँग माग गर्दछ ।

कृष्णप्रसाद पौडेल

मुख्य सचिव

Published : Saturday, 2017 November 25, 12:41 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया