दाङमा माओवादीका ‘खम्बा’ले पार्टी छाडे, कांग्रेसमा भव्य स्वागत

घोराही । नेकपा (माओवादी केन्द्र)का दाङ जिल्ला सदस्य नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

जिल्ला सदस्य ओमबहादुर खत्री अमिलियामा सोमबार आयोजित चुनावी सभामा माओवादी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् ।

चुनावी सभामा खत्रीलाई क्षेत्र नम्बर १ का कांग्रेस प्रतिनिधी सभा सदस्य उम्मेदवार सुशीला चौधरी, प्रदेश सभाका उम्मेदवार जानकीलाल बस्नेत र कांग्रेस नेता योगेन्द्र चौधरीले पार्टी प्रवेश गराएका हुन् । माओवादी नेता खत्रीसहित ११ जना कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस दाङद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

कांग्रेस प्रवेश गरेका खत्री ०५४ सालदेखि नै माओवादीमा सकृय थिए । भारतमा माओवादीको संगठन निर्माणको जिम्मेवारीबाट उनको माओवादी राजनीति सुरु भएको थियो । उनी ०५८ मा भूमिगत भएका थिए । धर्ना, फूलवारी, गढवामा सुरक्षा दस्ताको कमाण्ड सम्हालेका खत्री ०६४ मा दाङ जिल्लाको सदस्य बनेका हुन् ।

वाम गठवन्धनका नाममा मुलुकमा कम्युनष्टि शासन लाद्ने माओवादी पार्टीको नीति ठीक नलागेर खत्रीले पार्टी छोडेको बताएका छन् । ‘नेपाली जनता लोकतान्त्रिक पद्धतिमा बाँच्न चाहन्छ’, उनले भने, ‘वाम गठवन्धनका नाममा कम्युनिष्ट शासन सञ्चालन गर्ने माओवादी नीतिप्रति म सहमत हुन सकिन । पार्टी छाडे ।’

कांग्रेस उम्मेदवार सुशीला चौधरी, जानकीलाल बस्नेत, कांग्रेस नेता योगेन्द्र चौधरी, पूर्व सांसद विमला नेपाली लगायतका नेताहरूले विकास निर्माणको सच्चा पहरेदार कांग्रेस मात्रै भएको बताएका छन् । उनीहरूले कांग्रेसलाई मतदान गर्न दाङका मतदाताहरूसँग आग्रह गरेका छन् ।

कांग्रेस नेता योगेन्द्र चौधरीले कम्युनिष्ट शासन सञ्चालनका लागि प्रचारमा ल्याइएको वाम तालमेलको भ्रममा नपर्न मतदाताहरूलाई आग्रह गरे । ‘कम्युनिष्ट शासन भनेको जनताका कुण्ठित हुने शासन हो, त्यहाँ शासकले जे भन्छन् त्यही मान्नुपर्ने बाध्यात्मक परिस्थिति रहन्छ’, उनले भने, ‘भोलीको त्यो डर लाग्दो अवस्थाबाट जोगिन अहिल्यै सचेत बन्न जरुरी छ, लोकतान्त्रिक शक्तिको पक्षमा लाग्नु जरुरी छ ।’

कांग्रेसले सोमबार नै अमिलिया, तेलिया, रिहार, बिजुलीपुर, गणेशपुर, सतवरिया, बनघुस्री र बन्गैँमा चुनावी सभा गरेको छ ।

Published : Monday, 2017 November 20, 7:18 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया