शहीद पत्नी लक्ष्मीले मुख खोलेपछि एमाले संकटमा, शंकर–बलिभद्र ‘कठघारा’मा

घोराही । शहीद उमेश थापाको हत्यामा संलग्न आरोपीलाई नेकपा (एमाले) दाङले प्रदेश सभाका लागि समानुपातिकमा टिकट दिएपछि शहीद पत्नी लक्ष्मी थापाले असन्तुष्टि जनाएकी छिन् ।

रिपब्लिका दैनिकसँगको कुराकानीमा शहीद पत्नी लक्ष्मीले भनिन्, ‘पार्टीगत रुपमा भन्नु हुन्छ भने एमाले दाङको निर्णय मलाई स्वीकार्य छ । तर, व्यक्तिगत रुपमा भन्नु हुन्छ भने बलिभद्र रानालाई समानुपातिकमा टिकट दिएकोप्रति असहमति छ ।’ बलिभद्र रानाभन्दा सक्षम र जुझारु नेताहरू दाङ जिल्लामा एकसे एक रहेको उनले बताइन् ।

अखिल नेपाल महिला संघ दाङकी राष्ट्रिय परिषद् सदस्य लक्ष्मी थापाले जनआन्दोलनका दोषीलाई एमालेले टिकट किन दिएको होला भनेर धेरैले आफूसँग प्रश्न सोध्ने गरेको पनि सुनाइन् । उनले यस विषयमा धेरै बोल्न आफू अनुच्छुक रहेको समेत बताएकी थिइन् ।

समानुपातिकमा लक्ष्मी थापाको नाम दाङ एमालेले सिफारिस गरेको थियो । तर, उनलाई एमालेले टिकट दिएन । बरु रानाले टिकट पाए ।

‘तपाईले मात्रै होइन उमेश थापाको हत्यामा संलग्नलाई एमाले दाङले किन टिकट दिएको भनेर धेरैले प्रश्न गर्नु हुन्छ’, उने भनिन् ।
०६२/६३ को जनआन्दोलनका बेला राजा ज्ञानेन्द्र शाहको नियुक्ति पाएर घोराही नगरपालिकाको मेयर बनेका तत्कालीन राप्रपा नेपालका नेता बलिभद्र राना नेपाली सेनाको गाडीमा चढेर आएको र सोही बेला गोली चलाउन आदेश दिएको आरोप छ । रानाले सो घटनामा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएका छन् । तर, दङ्गाली जनता रानाको सो भनाई मान्न तयार छैनन् । एमाले र माओवादी केन्द्रले बलिभद्र रानाको त्यो आदेश भुलेपनि अरुले भेलेका छैनन् भन्छन् मतदाताहरू ।

बलिभद्र रानाको आदेशले नेपाली सेनाले गाली चलाउँदा उमेश थापाको मृत्यु भएको भन्दै सोही बेला नेकपा (एमाले) दाङ जिल्ला कमिटीको बैठक बसेर रानालाई कारबाहीको माग गरेको थियो । त्यस बेला एमाले दाङको अध्यक्ष शोभाराम बस्नेत थिए ।

एमाले दाङका तत्कालीन अध्यक्ष बस्नेतले रिपब्लिका दैनिकसँग कुरागर्दै उमेश थापाको हत्या गर्नमा प्रमुख दोषी रहेको भनेर त्यस बेला जिल्ला कमिटीले बलिभद्र रानालाई कारबाहीको माग गर्ने निर्णय गरेको स्वीकारे । ‘तत्कालीन एमालेको जिल्ला कमिटीले बलिभद्र रानालाई उमेश थापाको हत्याको दोषी ठानेको थियो । कारबाहीको माग गरेको थियो’, उनले भने, ‘यस्तै रहेछ । राजनीति हो । पार्टीले गरेको निर्णयलाई हामीले मान्नै पर्‍यो !’

त्यति मात्रै होइन जनआन्दोलनका बेला तुलसीपुर चौराह, राप्ती सुपरलज अगाडि लगायतका स्थानमा आमसभा र कोणसभाहरूमा ‘उमेश थापाको हत्यारा बलिभद्र रानालाई कारबाही गर’ भनेर भाषणा गरेको अहिले जस्तै लाग्ने दाङका विभिन्न दलका नेताहरू बताउँछन् ।

एमाले दाङ जिल्ला कमिटीका एकजना सदस्यले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘शंकर पोख्रेलले बलिभद्र रानासँग निर्वाचन खर्चवापत पैसा लिएर टिकट दिएका हुन् । शंकर पोख्रेलले दाङ जिल्लाको संगठन भताभुङ्ग बनाइ दिए ।’ एमालेभित्र होनहार नेताहरू रहेको भन्दै तीन नेताले भने, ‘संगठन गर्ने हामीले । अवसर पाउने दुई हप्ता अगाडि पार्टी प्रवेश गरेको मण्डलले ? एमाले दाङका नेता कार्यकर्ताको मनमा गाँठो परेको छ ।’

यसैबीच, नेकपा (एमाले) जिल्ला कमिटीका केही सदस्यहरूले हातले लेखेर रिपब्लिका दैनिकलाई पत्र पठाएर शंकर पोख्रेल र बलिभद्र रानाको चर्को विरोध गरेका छन् । उनीहरूले त्यस बेला एमालेले गरेको निर्णयलाई स्मरण गर्न सिङ्गो जिल्ला कमिटी दाङ र दाङ जिल्लाभरिका संगठित सदस्यहरूलाई अपील गरेका छन् ।

(जिल्ला कमिटी दाङका सदस्यहरूले मेलमार्फत पठाएको पत्र रिपब्लिका दैनिकसँग सुरक्षित छ । उहाँहरूकै आग्रहअनुसार गोपनीयताका कारण पत्रसर्वजनिक गरिएको छैन)

Published : Saturday, 2017 November 18, 11:29 am

2 प्रतिकृया प्राप्त “शहीद पत्नी लक्ष्मीले मुख खोलेपछि एमाले संकटमा, शंकर–बलिभद्र ‘कठघारा’मा”

  • इतिसासका कुरा गर्ने हो भने हरेक आन्दोलनमा हब्यतब्यमा हरेक पार्टीका मान्छेले हरेक पार्टीका मान्छे मारेका छ्न, सायद सन्लग्नका कुरा गर्नेहो भने कोहि नेता चोखा छैनन होला,ब्यक्तिगत रिसिबिले हत्या गरेको भए थिकै हो तर हिजोका ती वाहियात कुरा ल्याएर पार्टी र चुनाब बिथोल्न खोज्नु पागलपना हो त्यो बेला उमेशको ठाउमा अरु पनि पर्न सक्थ्यो ,यो स्वार्थीपना हो आफू र आफुले भनेको मान्छेले टिकट पाए ठिक नत्र अनेक आरोप लगाइ बिगार्ने कुरा हो,राजनीति भनेकै यहि जो जुनबेला जे पनि जो जे पनि बन्न सक्ने ,तर सक्क्षम मान्छे चाहिँ हुनु पर्छ ,बलिभद्र राना पार्टीमा केही गर्न सक्ने मान्छे हुन टिकट दिएर पार्टीलाई फाइदै होला नानाथरी कुरा नगरौ नभत्काउ।

    • चैते एमाले लाइ टिकट दिएर पाटीले साँसद को सँख्या मात्र बढाउँने काम गर्नु गलत हो , यस्तो कामलाइ प्रस्रय दिने कुनै पनी नेतालाइ मेरो सहाँनु भूती छैन यो गलत निर्णय हो तुरून्त सच्यावस ।इन्दु वस्नेत को लेख हेर्दा उँहाँ पनी चैते एमाले जस्तो लाग्यो।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया