कृष्णबहादुर महराको चाकडी गर्दै नरेन्द्र पुनले दिए ठेगान लगाउने धम्की

घोराही । नेपाली कांग्रेस भरखरै परित्याग गरेर नेकपा (माओवादी केन्द्र) निकट पुगेका फुटबल रेफ्री नरेन्द्र पुनले उपप्रधान एवम् विनाविभागीय मन्त्री कृष्णबहादुर महराविरुद्ध समाचार सम्प्रेषण गरेकोमा आक्रोश जनाएका छन् ।

एक मिहना अगाडिसम्म नेपाल तरुण दलको सचिव समेत रहेका पुनले पछिल्लो समय माओवादी केन्द्रको वकालत गर्दै आएका छन् ।

माओवादी नेता महराले निर्वाचन आचार संहिता विपरित दाङको घोराही भरतपुरस्थित फुटबल ग्राउण्डलाई ३० लाख माग गरेको भिडियो रिपब्लिका दैनिकले सार्वजनिक गरेपछि कांग्रेस छाडेका पुनले आपत्ति जनाएका हुन् ।

माओवादी केन्द्र निकट पुगेका पुनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर समाचार लेख्ने पत्रकारलाई ठेगान लगाउने चेतावनी दिएका छन् ।

‘सविन प्रियसनजी तपाई पत्रकार महासंघको अध्यक्ष, विपुल पोख्रेल दाजु तपाई केन्द्रीय उपाध्यक्ष र उदय जिएम दाजु तपाई केन्द्रीय सचिव पत्रकार महासंघ नेपालको त्यसकारण त्यो विकास र खेल विरोधी राजु खनालको पिउसो झोले पत्रकारलाई सम्झाउनुहोस् अन्यथा दङ्गाली खेलाडीले सम्झाउँदा हामीले जिम्मेवारी लिने छैनौँ’, भनेर धम्की दिएका छन् ।

आफूलाई कथित खेलाडीका रुपमा चिनाउने पुनले दिएको धम्कीका सम्बन्धमा दाङका प्रहरी प्रमुख एसपी दुर्गा सिंहसँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल फोन उठेन ।

त्यसपछि रिपब्लिका दैनिकले निर्वाचन आचार संहिता विपरितका क्रियाकलापपछि प्रकाशित समाचारलाई लिएर कथित खेलाडी हुँ भन्ने पुनले दिएको धम्कीका विषयमा नेपाल प्रहरीका आईजीपी प्रकाश अर्यालसँग राखिएको जिज्ञासामा उनले भने, ‘यस विषयमा के भएको रहेछ दाङ प्रहरीसँग जानकारी लिन्छु । समाचारकै विषयमा कसैले धम्की दिन्छ भने उसलाई कारबाही हुन्छ । शान्ति सुरक्षा दिने जिम्मेवारी प्रहरीको हो ।’

निर्वाचन आचार संहिता लागू भइसकेको अवस्थामा दाङ क्षेत्र नं. २ बाट प्रतिनिधी सभा उम्मेदवार बनेका माओवादी केन्द्रका उम्मेदवार कृष्णबहादुर महराले खेलमैदानमा पुगेर अर्थ सचिवलाई फोन गरेर धम्कीको भाषामा ३० लाख सहयोग गर्न आदेश दिएका थिए ।

निर्वाचन आउनुभन्दा पहिला खेल मैदान बन्दैछ भन्ने कुरा महरालाई किन जानकारी भएन ? किन भने उनी दाङका बासिन्दा होइनन् । उनी रोल्पाका बासिन्दा हुन् । त्यसकारण पनि दाङका मतदातालाई प्रभावमा पार्न आचार संहिता विपरित सो कार्य गरेका थिए ।

महरा यसअघि अर्थमन्त्री थिए । उनले किन समयमा फुटबल ग्राउण्ड बनाउन रकम निकासा गरेनन् ? प्रश्न उठेको छ ।

दाङको खेल मैदानलाई रकम अपुग भएको विषयमा रिपब्लिका दैनिकले खेलुकद मन्त्री राजन केसीसँग राखेको जिज्ञासामा उनले भने, ‘रकम अभाव छ भने प्रक्रिया पुर्‍याएर आउँदा हामीले दिन्छौँ । तर, अहिले निर्वाचन आचार संहिता लागू भइसकेको अवस्थामा पैसा दिन्छु भनेर पनि दिन सकिँदैन । कृष्णबहादुर महराले भन्दैमा आचार संहिता विपरित रकम दिन सकिँदैन ।’

दाङ क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका प्रतिनिधी सभाका उम्मेदवार राजु खनालसँग तपाई त विकास विरोधी नेता होरे नि ? भनेर राखेको जिज्ञासामा उनले भने, ‘मेरो घरकै छेउँमा बन्दै गरेको खेल मैदानको म कसरी विरोधी हुन्छु । कसैले खेल मैदान बनाउन पैसा दिन्छ भने सबैभन्दा पहिला मैले त्यो व्यक्तिलाई फूल मालाले स्वागत गर्छु ।’

अर्थ राज्यमन्त्री उदय शम्शेर राणाले पनि आचार संहिता लागू भइसकेको अवस्थामा कुनै पनि शीर्षकमा रकम दिन नमिल्ने बताए । ‘कृष्णबहादुर महराले मतदातालाई प्रलोभनमा पार्न पैसा माग गर्नु भएको होला’, राणाले भने, ‘सरकार निर्वाचन निष्पक्ष र धाँधली रहित रुपमा गराउन लागेका बेला माओवादीका जिम्मेवार नेता र विनाविभागीय मन्त्रीले त्यस्ता खालका हर्कत गर्न सुहाउँदैन ।’

कथित खेलाडी नरेन्द्र पुनले भिडियो रिपब्लिका दैनिकलाई उपलब्ध गराउने व्यक्तिको हात काट्ने भने चेतावनी दिँदै हिँडेका छन् । नयाँ माओवादी बनेका नरेन्द्र पुनलाई के थाहा छैन भने त्यो भिडियो उनकै साथी देव दासले फेसबुकमा राखेका थिए । भिडियो साभार गरेर समाचार आएपछि कृष्णबहादुर महरा र नरेन्द्र पुनले धम्की दिएर फेसबुकबाट सो भिडियोदेव दासलाई हटाउन लगाएका थिए । तर, सो भिडियो रिपब्लिका दैनिकसँग सुरक्षित छ ।

यसैबीच, भरतपुर फुटबल ग्राउण्डमा के कति खर्च भएको छ सो विषयमा पनि रिपब्लिका दैनिकले खोजविन थालेको छ । सो विषयमा सत्यतथ्य छिट्टै सार्वजनिक गरिनेछ । फुटबल ग्राउण्ड बनाउने क्रममा रकम घोटाला भएका गुनासाहरू पनि स्थानीयले गरेका छन् ।

Published : Saturday, 2017 November 18, 12:38 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया