कम्युनिष्टहरूलाई दाङमा कांग्रेसको ‘काउन्टर’ जवाफ, अधिनायकवादको प्रयोगशाला बन्न नदिने

दुधरास । राजनीतिक ध्रुबीकरणको अभ्याससंगै नेपाली कांग्रेस दाङले चुनावी रणनीतिलाई गाउँ केन्द्रित अभियानका रुपमा चलाएको छ ।

कांग्रेसलाई दुर्गम बस्तीका कार्यकर्ता र मतदाताहरूले हुर्काएको भन्दै लोकतन्त्रको पक्षमा अन्तिम मतदान गर्न कांग्रेसका उम्मेदवारहरू आग्रह गरेका छन् ।

उनीहरूले दाङलाई कम्युनिष्टहरूले अधिनायकवादको प्रयोगशाला बनाउन खोजेको भन्दै विरोध गरेका छन् । उनीहरूले कम्युनिष्ट पार्टीका नेताहरूको आबरणलाई समयमा चिन्न मतदाताहरूलाई आग्रह गरेका छन् ।

दुधरासमा आइतबार सम्पर्क कार्यालयको उद्घाटन गर्दै दाङ क्षेत्र नं. २ का उम्मेदवार राजु खनालले भने, ‘लोकतन्त्रको फैसला गर्ने तपाईहरूले हो । अधिनायकवाद र सर्वसत्तावादी कम्युनिष्ट रोज्ने कि कांग्रेसको समुन्नत लोकतन्त्र खोज्ने मतदाताको हातमा छ ।’

खनालले अबको लडाइँ भनेको लोकतन्त्र र अधिनायकवादबीच भएको बताए । ‘लोकतन्त्रको संस्थागत विकाससंगै आर्थिक समृद्धि चाहिरहेका छौं, अधिनायकवाद नेपाली जनताले चाहेका छैनन्’, उम्मेदवार खनालले भने, ‘कांग्रेसले जनताको मतको उच्च सम्मान गर्न चाहन्छ ।’

कांग्रेस नेतृ अनिता देवकोटाले मतदाताले फेरि पनि कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराउने बताइन् । उनले भनिन्, ‘जिल्लाको विकासका लागि कांग्रेसलाई मतदान गर्न मेरो सबैलाई आग्रह छ ।’

कांग्रेसका पूर्व जिल्ला सभापति वीरकेश्वरी गौतमले प्रजातन्त्रले कहिल्यै नहार्ने भन्दै गाउँ जाउँ लोकतन्त्र जोगाऔं भन्ने
अभियानलाई व्यापक बनाउन सुझाव दिए ।

प्रदेश सभा सदस्यका उम्मेदवार भरत न्यौपानेले समृद्धिका पक्षमा दाङका मतदाताले कांग्रेसका उम्मेदवारलाई मतदान गर्ने बताए ।

Published : Sunday, 2017 November 12, 6:58 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया