कांग्रेसमा प्रवेश गर्न खोज्दा मन्त्री शर्माका ‘पीए’ले दिए धम्की

 

कञ्चनपुर । नेपाली कांग्रेस प्रवेश गर्न दोस्रोपटक प्रयास गरेकी नेकपा (माओवादी केन्द्र)की पूर्व सांसद दुर्गा खुनालाई वाइसीएलले रोकेको छ ।

स्रोतका अनुसार खुना यसअघि पहिलो चरणको मनोनयन दर्ताकै बेला कांग्रेसमा प्रवेश गर्न खोजेकी थिइन् । त्यतिबेला पार्टी प्रवेश गर्न लागेको थाहा पाएर खुनालाई वाइसीएलकै कार्यकर्ताले उठाएर एक हप्ता वेपत्ता पारेका थिए ।

उनलाई तत्कालीन गृहमन्त्री जनार्दन शर्माका पीए एवं वाइसीएल नेता नवराज ऐरी, माओवादी नेता टेकेन्द्र भट्ट, महेश जोशी लगायतको निर्देशनमा सम्पर्क विहीन बनाइएको थियो ।

फेरि सम्पर्कमा आई कांग्रेसका प्रभावशाली नेता एवं क्षेत्र नम्बर २ का उम्मेदवार एनपी साउदको हातबाट टीका लगाएर पार्टी प्रवेश गर्ने तयारीमा रहेकी खुनालाई दोस्रोपटक विहीबार वाईसीएलका केटाहरुले उठाएर लगे ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका २ बंकका एक चौधरी थरका स्थानीयका अनुसार खुना पार्टी प्रवेश गर्न भनेर बंक शिविरमा बडघर सम्मेलन राखिएको थियो । उनी त्यहाँ उपस्थित थिइन् । उनलाई पार्टी प्रवेश गराउन एनपी आउँदै थिए ।

यही बीचमा तपाईसँग काम छ केही युवा आएर उनलाई गाडीमा हालेर लगे । पछि उनीहरू वाईसीएलका कार्यकर्ता भएको खुल्यो । उनीहरूले खुनालाई माओवादी नेताकहाँ लगेर गए ।

नेताहरुले उनलाई चुनावको मुखमा पार्टी परिवर्तन नगर्न चेतावनी दिँदै पार्टीलाई नकारात्मक प्रभाव पर्ने काम नगर्न चेतावनी दिए । यसरी चेतावनी दिनेमा जनार्दन शर्माका पीए नवराज ऐरी, जिल्लाका नेता टेकेन्द्र भट्ट लगायत थिए ।

जनयुद्ध कालमा जबरजस्ती गर्ने माओवादी कार्यकर्ता अहिले पनि सच्चिएका छैनन् भन्ने उदाहरण बनेको छ यो घटना । लोकतन्त्र र गणतन्त्रको कुरा गरेपनि माओवादी र वाइसीएलहरूले पार्टीको नाममा व्यक्तिको स्वतन्त्रतालाई यसरी हनन गरिरहेका छन् ।

पूर्व सभासद् खुना एमाओवादीबाट २०६४ सालमा संविधानसभा सदस्य थिइन् ।

Published : Saturday, 2017 November 11, 8:11 am

1 प्रतिकृया प्राप्त “कांग्रेसमा प्रवेश गर्न खोज्दा मन्त्री शर्माका ‘पीए’ले दिए धम्की”

  • पार्टी प्रतिको आश्था श्वतन्त्र आश्था हो, यसमा कसैको जवरजस्तीकरण र हस्तछेप हुनु हुदैन!

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया