खेतमै पुगेर मत माग्दै कांग्रेस उम्मेदवार साउद

कञ्चनपुर । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं कञ्चनपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एनपी साउद मतदाता भेट्न खेतमै पुग्न थालेका छन् ।

देशमा निर्वाचनको माहोल बढिरहेका बेला किसान खेतबारी धान र मकैबाली भित्र्याउन व्यस्त रहँदा नेता साउद मतदाता भेट्न खेतमै पुग्न थालेका हुन् । उनले मतदातासँग यहाँको समस्या र विकास प्रगतिबारे भलाकुसारी गर्दै भोट माग्ने गरेको सहयोगी लेखराज जोशीले बताए ।

नेता साउदको क्षेत्र नम्बर २ मा वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेका एमाले नेता नरबहादुर धामीसँग प्रतिस्पर्धा हुँदैछ ।

‘एनपी दाई दिनरात मतदाताको समस्या सुन्न र आफ्ना एजेण्डा बुझाउन गाउँ गाउँ पुगेर मतदाता भेटिरहनुभएको छ, उहाँले आफ्नो कार्यकालमा यो क्षेत्रमा सुरु गरेका विकास निर्माणका कामले मतदाता सकारात्मक देखिएका छन् । जनताले राम्रो काम गर्नुभयो भनेका छन् । यसले हामीलाई उत्साहित बनाएको छ । जित एनपी दाइकै हुन्छ,’ जोशीले दाबी गरे ।

७ नम्बर प्रदेशमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवापछि कांग्रेसका प्रभावशाली नेता साउद मनोनयन दर्ताको दिनदेखि जिल्लाभरी खटिएका छन् । उनले कांग्रेसको क्षेत्र नम्बर १ र ३ सहित जिल्लाभित्रका सबै चुनावी आमसभालाई सम्बोधन गरिरहेका छन् ।

नेता साउद चुनावी सभालाई सम्बोधन गर्न ७ नम्बर प्रदेशका ९ वटै जिल्ला पुग्नेछन् ।

Published : Saturday, 2017 November 11, 8:00 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया