ओली–प्रचण्डलाई प्रकाशमानले दिए ‘काउन्टर’, एमाले–माओवादीभित्र तरंग

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एमाले र माओवादी केन्द्रले दश वर्षभित्र मुलुकमा साम्यवादी कम्युनिष्ट व्यवस्था ल्याउने गरेर घोषणा गरेको भन्दै लोकतन्त्रवादी शक्तिले गम्भीर भएर सोँच्नु पर्ने अवस्था आएको बताएका छन् ।

काठमाडौं क्षेत्र नं. १ अन्तर्गत शनिबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले एमाले र माओवादीको साम्यवादी व्यवस्था ल्याउने योजनालाई नेपाली जनताले रोक्नुपर्ने बताए ।

‘दश वर्षभित्र साम्यवादी व्यवस्था ल्याउने भनेर एमाले र माओवादी केन्द्रले सहमति गरेका छन्’, उनले भने, ‘केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट शासन ल्याउने कुरा गरेका छन् । सहमति गरेका छन् ।’ साम्यवादी कम्युनिष्ट व्यवस्था नेपालमा आयो भने जनताको सबै हकअधिकार खोसिने कांग्रेस नेता सिंहले दाबी गरे ।

साम्यवादी व्यवस्था विश्वभरिबाट किन पतन भयो भन्ने कुरा एमाले र माअ‍ोवादी केन्द्रलाई सोँच्न नेता सिंहले सुझाव दिए । ‘साम्यवादी कम्युनिष्ट व्यवस्था व्यक्तिको जन्मसिद्ध अधिकार विरुद्धको कुरा हो’, उनले भने, ‘जनताको अधिकार छिन्ने । एकदलीय शासन व्यवस्था ल्याउने । सबै कुरा केन्द्रबाट नियन्त्रण गर्ने । कम्युनिष्टहरूले बिरोधीलाई बोल्न नदिएर निषेध गर्नेसम्मका कार्य गर्ने छन् ।’

नेता सिंहले पहिलो संविधान सभामा कम्युनिष्ट पार्टीहरूको बहुमत हुँदाहुँदै संविधान जारी गर्न नसकेको बताए । ‘पहिलो संविधान सभामा कम्युनिष्टहरूको बहुमत थियो । तर, संविधान जारी गर्न सकेनन्’, उनले भने, ‘दोस्रो संविधानसभामा कांग्रेसलाई जनताले जिताएर पठाए । कांग्रेसको नेतृत्वमो संविधान जारी भयो । त्यो संविधानलाई भत्काउन एमाले र माओवादी लागेका छन् ।’ संविधानको रक्षा गर्नका लागि पनि कांग्रेसको जित आवश्यक रहेको उनले बताए ।

Published : Saturday, 2017 November 4, 10:53 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया