ओलीको शरणमा पुगे सिलवाल, एमालेको नेता बन्ने

काठमाडौं । आईजीपी प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्व डिआइजी नवराज सिलवाल एमालेमा प्रवेश गर्ने भएका छन् ।

सिलवालले बिहीबार भक्तपुरस्थित एमालेका अध्यक्ष केपी ओलीको निवास पुगेर ओलीसँग दसैँको टीका समेत लगाएका छन् ।

ललितपुर निवासी सिलवाल शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष केपी ओलीको हातबाट पार्टी सदस्यता लिने तयारी भइरहेको छ ।

एमाले स्रोतका अनुसार, उनी आसन्न निर्वाचनमा ललितपुरबाट चुनावमा उम्मेदवारी दिन सक्ने बताइएको छ ।

नेपाल प्रहरीका तत्कालीन आइजिपी उपेन्द्रकान्त अर्याल सेवानिवृत भएपछि वरिष्ठताको आधारमा आफूले प्रहरी संगठनको नेतृत्व पाउने आशामा सिलवाल रहेका थिए ।

सत्तासाझेदार दलसँगको परामर्शमा उनी एमालेको योजना मुताविक चल्ने व्यक्ति भएको आशंकामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले सिलवाललाई आइजिपी नबनाएर अर्का डिआइजी जयबहादुर चन्दलाई नियुक्त गरेपछि आक्रोसित हुँदै सर्वोच्च अदालतमा पुगेका थिए ।

प्रधानन्यायाधीस सुशीला कार्कीसँग भेट गरी उनैको परामर्शमा सिलवालले सरकारको निर्णय विरुद्ध रिट निवेदन दर्ता गराएका थिए ।

त्यसपछि सर्वोच्च अदालतले सरकारको निर्णय बदर गरेको थियो । त्यसपछि पनि लामो विवाद पश्चात वरिष्ठता र कार्यक्षमताका आधारमा प्रकाश अर्याललाई आइजिपी नियुक्त गरेपछि पनि सिलवाल मिडियाबाजी गर्दै आफू इमान्दार सिपाही भएको भन्दै अदालतमा गएपनि उनको रिट खारेज भएको थियो ।

त्यसपछि रुष्ट बनेका सिलवाल आफू इमान्दार सिपाही भएपनि न्याय नपाएको भन्दै प्रहरी सेवाबाट अवकास लिएका थिए ।

सिलवालको एमाले प्रवेश गर्ने निर्णयले केही समयअघि सत्तारुढ दलले लगाएको आरोप सिद्ध भएको छ ।

Published : Friday, 2017 October 6, 10:01 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया