तराई झरे कांग्रेस नेताहरू, देउवा, पौडेल र डा.कोइरालाले प्रचार गर्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइरालाले आजदेखि प्रदेश नं. २ का आठ वटै जिल्लाका चुनावी सभाहरूलाई संयुक्त रुपमा सम्बोधन गर्ने भएका छन् ।

सभापति एवम् प्रधानमन्त्री देउवा आज २ नं. प्रदेशको निर्वाचन प्रचार प्रसारमा निस्कने कांग्रेस मुख्यालयले जनाएको छ ।

देउवा भदौ ३० गते राजधानी फर्कने कार्यक्रम तय भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल भने निर्वाचन परिचालनका लागि सोमबार नै लहान पुगी सकेका छन् ।

कार्यक्रम अनुसार देउवा, पौडेल, डा.कोइरालाले आज दिउसो १ बजे सप्तरीको राजविराजमा हुने आमसभालाई संबोधन गर्ने छन् ।

सप्तरीको सम्बोधन एवम् पार्टी कार्यकर्तासंगको भेटघाटपछि उनीहरू आजै सिरहा प्रस्थान गर्ने कार्यक्रम छ ।

सिराहा जिल्ला कार्यसमितिले आजै जिरोमाइलमा चुनावी सभा आयोजना गर्दै छ । सो आमसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

अपरान्ह ४ बजे सो आमसभालाई सम्बोधन गरेर पार्टी कार्यकर्ताहरूसंग भेटघाटपछि देउवासहितका कांग्रेसका शीर्ष नेताहरू जनकपुर प्रस्थान गर्ने छन् ।

शीर्ष नेताहरूले बुधबार बिहान धनुषा र महोत्तरीका पार्टी नेता तथा कार्यकर्ताहरूसंग भेटघाट गर्ने कार्यक्रम छ ।

देउवासहितका कांग्रेस नेताहरूले भोली २८ गते बुधबार महोत्तरीको सदरमुकाम जलेश्वरमा हुने चुनावी सभालाई संबोधन गर्ने कार्यक्रम छ ।

महोत्तरी कांग्रेसले जलेश्वरमा बिहान ९ बजे चुनावी सभाको आयोजना गरेको छ । उनले सोही दिन दिउँसो १ बजे जनकपुरधाममा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने छन् ।

Published : Tuesday, 2017 September 12, 11:00 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया