२ नं. प्रदेश झर्दै देउवा, यस्ता छन् चुनावी कार्यक्रम

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनको तेस्रो चरणअन्तर्गत असोज २ गते निर्वाचन हुने आठै जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

पार्टी सभापति देउवा यही भदौ २७ गते प्रदेश नं २ को निर्वाचन प्रचारमा जानुहुने र भदौ ३० गते राजधानी फर्कने कार्यक्रम तय भएको पार्टीं केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाले भदौ २७ गते सप्तरीको राजविराजमा हुने आमसभा र सिरहाको जिरोमाइलमा अपराह्न ४ बजे आयोजना हुने चुनावीप्रचार सभालाई सम्बोधन गर्ने छन् ।

सिरहाको सम्बोधन र पार्टी कार्यकर्ताको भेटघाटपछि प्रधानमन्त्री देउवा जनकपुर प्रस्थान गर्ने तालिका छ ।

उनले भदौ २८ गते बिहान रामजानकी मन्दिरको दर्शन गर्नाका साथै कार्यकर्तासँग भेटी अपराह्न १ बजे जनकपुरधाममा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने पार्टी कार्यालयले जनाएको छ ।
भदौ २९ गते प्रधानमन्त्री देउवाले सर्लाही र रौतहटका चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

सर्लाहीको मलंगवामा अपराह्न १ बजे हुने आमसभा र अपराह्न ४ बजे रौतहटको गौरमा हुने आमसभालाई सम्बोधन गरी प्रधानमन्त्री देउवा वीरगञ्ज प्रस्थान गर्ने छन् ।

भदौ ३० गते अपराह्न १ बजे बाराको कलैयामा आयोजना हुने चुनावी सभालाई सम्बोधनपछि प्रधामन्त्री देउवाले सोही दिन पर्साको वीरगञ्जमा आयोजना हुने चुनावी सभालाई अपरान्ह २ बजे सम्बोधन गर्ने छन् ।

प्रधानमन्त्री देउवा सोही दिन काठमाडौंँ फर्कने कार्यक्रम रहेको पार्टी कार्यालयले जनाएको छ ।

Published : Sunday, 2017 September 10, 6:05 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया