म्यादी सरकारलाई स्वयच्छाचारी निर्णय गर्ने अधिकार छैन : एमाले

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले सरकारले निर्वाचन आचार संहिता विपरित कर्मचारीहरूको सरुवा गरेको भन्दै स्वयच्छाचारी ढंगले काम गर्ने छुट कसैलाई नरहेको चेतावनी दिएको छ ।

संसदको सोमबारको बैठकमा एमालेका सांसद तथा उपाध्यक्ष भीमबहादुर रावालले वर्तमान म्यादी सरकारले जे मन लाग्यो त्यो गरेको भन्दै आपत्ति जनाए ।

‘यो म्यादी सरकारले जे मन लाग्यो त्यो गर्न पाइँदैन’, उनले भने, ‘म्यादी सरकारलाई राष्ट्रहित विरुद्धका सहमति गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सदनलाई जानकारी दिनुपर्छ ।’

सरकारले सरोकारवाला मन्त्रालयसँग समन्वय नगरेर भारतबाट ग्यास पाइप लाइन ल्याउने सहमति भएको भन्दै उपाध्यक्ष रावलले विरोध गरे ।

‘सुनौली नाकाबाट ग्यास ल्याउने भनेर भारतबाट कर्मचारी ल्याएर सर्वे गर्ने काम भइरहेको छ’, उनले भने, ‘सार्वभौम मुलुकमा जे मन लाग्यो त्यो गर्न पाइन्छ ?’

निर्वाचन आयोगले भदौ १४ गतेबाट आचार संहिता लागू गरेको स्मरण गराउँदै एमाले उपाध्यक्ष रावलले भने, ‘सत्तारुढ राजनीतिक दलका ठूला नेताहरूले बोरामा चामल बोकेर राहत सामग्री वितरण गरिरहेका छन् । कर्मचारीहरूको मनपरी सुरुवा भएको छ । प्रमुख जिल्ला अधिकारीहरूलाई नियम विपरित सुरुवा गरिएको छ । यो कार्य तत्काल सुधार हुनुपर्छ ।’ उनले प्रधानमन्त्री देउवाले आचार संहित विपरित भएका सबै गतिविधिको जवाफ सदनलाई दिन माग गरे ।

‘गृह मन्त्रालयबाट स्वयच्छाचारी ढंगबाट प्रहरीका ठूला हाकिमहरूलाई चलाइँदै छ’, उनले भने, ‘प्रहरीभित्र भएको यस्ता खाले बिक्री रोक्नु पर्छ ।’

प्रधानमन्त्री देउवाले सदनलाई जवाफ दिन माग गरेर एमालेका सांसदहरू आ–आफ्नो सिटमा उभिएपछि सभामुखले सरकारलाई आगामी बैठकमा सो विषयमा जानकारी गराउन रुलिङ गरेकी थिइन् ।

Published : Monday, 2017 September 4, 2:01 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया