बाढी पहिरोका कारण एक हजारको मृत्यु

काठमाडौं । बाढी पहिरोका कारण पछिल्लो पाँच वर्षमा एक हजार ३७ जनाको मृत्यु भएको छ । उक्त अवधिमा बाढी पहिरोका कारण ५३४ बेपत्ता र ५३४ घाइते भएका छन् ।

आर्थिक वर्ष २०६९/७० देखि हालसम्म बाढीबाट ४८० र पहिरोबाट ५५७ जनाको मृत्यु भएको छ । बाढीका कारण बेपत्ता हुनेको सङ्ख्या भने पहिरोको भन्दा बढी रहेको तथ्याङ्कले देखाउँछ । बाढीका कारण ३४१ जना र पहिरोका कारण १९३ जना बेपत्ता भएका छन् ।

बाढीका कारण सबैभन्दा बढी मृत्यु हुने जिल्लामा बर्दिया ४५, सुर्खेत ३४, दाङ ३१, मोरङ २३, बाँके २४, सिन्धुली २०, रौतहट १८, सुनसरी १५, सर्लाही र नवलपरासी १३/१३, उदयपुर र सप्तरी १२/१२, मकवानपुर र कालीकोट ११/११, झापा १० र काठमाडौं नौजना छन् ।

यस्तै बाढीका कारण सुर्खेतमा ९७, बर्दियामा २५, कालीकोटमा १७, मोरङमा र सुनसरीमा १२/१२, झापा र बाँकेमा १०/१०, सिन्धुलीमा नौ र कैलालीमा आठजना बेपत्ता भएको गृह मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

२०७१ साल साउन अन्तिम साता आएको ठूलो बाढीका कारण सुर्खेत, बर्दिया र दाङमा ठूलो मानवीय क्षति भएको थियो ।

बाढीका कारण सो अवधिमा ९४ घाइते, ५९ हजार ९४ परिवारको आंशिक घर क्षति, ३८ हजार ३६ र नौ हजार ८३८ घर पूर्ण रूपमा क्षति भएको गृह मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा बाढीका कारण रु १५ अर्ब दुई करोड ७५ लाख ३६ हजार ७३९ अनुमानित क्षति भएको गृहमन्त्रालयको आँकडा छ ।

Published : Saturday, 2017 August 26, 11:43 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया